ल्वाङमा ल्याङ्ल्याङ्: आत्मरक्षा गरेको हुँ- वडाध्यक्ष गुरुङ, नियतवश कुटपिट -इ. जिसी

पाेखरा | फागुन १३, २०७९

ल्वाङमा ल्याङ्ल्याङ्: आत्मरक्षा गरेको हुँ- वडाध्यक्ष गुरुङ, नियतवश कुटपिट -इ. जिसी

पोखरा:   माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरुङबाट कुटिएको भन्दै वडाकै सब–इन्जिनियर लक्ष्मण जिसी प्रहरीसमक्ष पुगेका छन् । 


जिसीले कारवाहीकालागि निवेदन दिएपछि हिजै छलफल भएपनि ठोस निर्णय भएको छैन । यसैबीच, कर्मचारीहरुले गाउँपालिकामा ‘पेनडाउन’सम्मको घोषणा गरेका छन् । 


वडाध्यक्ष गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने सबइन्जिनियर जिसी नेकपा एमाले समिर्थित हुन् । जिसीले नेताहरुलाई बधाई एवं शुभकामना दिन ‘हाम्रो गौरवशाली पार्टी नेकपा एमाले’ भनेर सम्बोधन गर्छन् । 


सम्भवतः राजनीतिक आस्थाकै कारण शुक्रबारको घटना घट्न पुगेको अनुमान गरिन्छ । यद्यपि, वडाध्यक्ष र जिसीबीच यसअघिदेखि नै सम्बन्ध अनुकुल हुन नसकेको स्थानीयको भनाई छ । 


यस विषयलाई आइतबार गाउँपालिकामा सबै बसेर टुंगोमा पुर्‍याउने गाउँपालिकाका प्रवक्ता गणेश आचार्य बताउँछन् ।

 

‘हामीले जिसीका परिवासँग पनि भेटघाट गरेका छौं, सम्बन्धलाई सुधार गर्दै जाने वातावरण बन्नेमा आशावादी छौं, यहाँको निष्कर्ष प्रहरीसमक्ष पुर्‍याई विवाद सल्टाउन लाग्नेछौं’ प्रवक्ता आचार्यले भने । 


यही प्रकरणमा मुछिएको दुई पात्रका भनाई संक्षेपमाः

 

लक्ष्मण जिसी

सब–इन्जिनियर, माछापुच्छ्रे गाउँपालिका


मलाई वडाध्यक्ष राम गुरुङले कुटेका हुन् । शुक्रबार म माथि नियतवश कुटपिट भएपछि प्रहरीमा उजुरी दिएको हुँ । मेरो काम प्राविधिक भएकाले फिल्डमा खटिइरहनुपर्छ, त्यसैकारण ठ्याक्कै १० बजे कार्यालय पुग्न सकिँदैन । शुक्रबार पनि यही निहुँमा म कुटिएको हुँ । कुटाइबाट नाकको माथि चोट पुगेको छ । शरिरको अन्य भागमा पनि पीडा भएको छ । 


प्राविधिक काम भएकाले बिहानै काममा निस्कने गरेको छु, सोही कारण समयमै कार्यालय पुग्न कहिलेकाही भ्याइन्न ।  त्यसदिन एउटा गाउँको लागत इस्टिमेट दिएर मलाई बिल बनाउन भनिएको थियो तर मैले नापजाँच नगरी बिल बनाउँन मिल्दैन भनेपछि म माथि अध्यक्ष गुरुङ जाइलागे । वडाध्यक्षको स्वार्थविपरित काम नगर्दा म माथि हातपात भएको हो । 


म ८ नम्बर वडाको प्राविधिक हुँ । त्यसदिन पनि सडकको साइटमा थए । आउँदा थोरै ढिला भएको हो । ल्वाङ सामुदायिक होमस्टेको कार्यक्रमको पूर्वाधार बनाउने स्टिमेट तयार गर्न वडाध्यक्षले भनेका थिए तर वडा कार्यालयमा सेवाग्राहीले कुरेकाले त्यो काम सकेर जान्छु भन्ने थियो तर एक्कासी कुटपिट भयो । 


म माथि भएको हातपातको विरुद्ध प्रहरीमा उजुरी दिएको छु । छलफल हुँदैछ । भोली गाउँपालिकामा पेनडाउन कार्यक्रम पनि छ । राष्ट्रसेवक कर्मचारीमाथि प्रहार भएको छ । न्याय पाउनेमा आशावादी छु । 


रामबहादुर गुरुङ,

अध्यक्ष, वडा नं.८, माछापुच्छ्रे गाउँपालिका


धेरै पहिल्यैदेखि सब–इन्जिनियर लक्ष्मण जिसीले विकासे काममा अवरोध गर्दै आएका छन् । जिसी कहिल्यैपनि समयमा कार्यालय आएका छैनन् । उनको आउने समय सँधै बिहान ११ बजे हो । त्यसदिन १०ः४६ मा आएका थिए । मैले होमस्टेसँग सम्बन्धित विषयमा कुरा गर्दा उनले आनाकानी गर्दै झन् चर्किए । त्यसपछि मैलेपनि ‘यस्तो तरिका ठिक हुन्न, कसैको कारण वडाबासीले दुख पाएको म सहँन्न’ भने । 


हामीसँग बजेट संकलन हुने आन्तरीक स्रोत छैन । सिंगो गाउँपालिका नै संघ र बजेटको प्रदेशमा निर्भर छ । यसर्थ, बजेट माग्न पोखरा झर्नपर्छ, यसै प्रयोजनार्थ हामी विभिन्न योजना बनाउँछौं तर जिसीले त्यसलाई फाइनल गर्नबाट पन्छिने र ढिलासुस्ती गर्नमै समय खर्चिन्छन् । 


वडाका दलित महिला सदस्यले पनि नमस्कार गर्दा नफर्काउने र रवाफिलो शैलीमा प्रस्तुत हुने गरेको सुनाउँदै आएका थिए । विशेषतः वडावासीलाई दिनुपर्ने सेवा प्रवाहमा बाराम्बार अवरोध गरिरहेका थिए ।

 
त्यसदिन पनि यही विषयमा चर्काचर्की भएको हो । सोहीक्रमा जिसी म भएतिर जोस्सिएर आए, म माथि प्रहार हुने ठानेपछि मैले थोरै हुत्याइदिएको हुँ, त्यसपछि उनी भित्तामा ठोक्किए । उनको नाकबाट केही रगत बगेको थियो । तर मैले कुटपिट गरेको हैन, प्रतिरक्षा गर्ने क्रममा धकेलेको भने स्वीकार्छु । 


यस विषयमा प्रहरीसँग गाउँपालिका र जिम्मेवार पदाधिकारीहरु छलफलमा छौं । यसलाई इस्यु बनाएर गाउँपालिकाकै काम रोक्ने योजना भइरहेको छ । यो सह्य हुँदैन । जे सुकै होस् तर वडा र क्षेत्रको विकासमा म बाट कुनैपनि किसिमको सम्झौता हुँदैन । यस विषयमा गाउँपालिका र वडामा पनि गएर स्थानीयको भनाई बुझ्न आग्रह गर्दछु ।

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्